काकाले भाइलाई भने – त्यो पशुपतिसित सँगत नगर्

काठमाडौं । अहिलेका चर्चित गायक पशुपति शर्मालाई सुरु-सुरुमा गीत गाउन कम्ति सकस थिएन । उनले गीत गाएको घरका कसैले पनि मन पराउदैन थिए । गाउँमा लुकेर गाएका पशुपतिले काठमाडौमा पनि केही वर्ष घरका मान्छेले थाहा नपाउने गरि गाए । गाउने क्रममा भोगेका केहि अनुभुतिहरु उनले यसरी बाँडेका छन्ः
काकाले भनेः पशुपतिको संगत नगर
म भर्खर गीत गाउन थालेको थिएँ । चर्चामा आएको थिइनँ । मेरो काकाको छोरा मसँगै थियौ । हामी दुईजना खाजा खान गएका थियौं । भाइको मोबाईलमा काकाले फोन गरेर सोध्नु भयो । ‘तँ कहा छस् ।’

भाईले भन्यो ‘म पशुपति दाईसित छु खाजा खान आएको ।’ काकाले उतावाट भन्नुभयो । त्यो सित नँहिड् है । त्यसले तँलाई पनि बिगार्ला ।’ मोबाईल ह्याण्ड्पको साउण्ड ठूलो थियो । मैले सुनि हालें । तर, केही भनिनँ ।

बेलुका घरमा आएँ । सार्‍है चिन्ता लाग्यो । सबले बिग्रीयो भन्थे । कसैले सपोर्ट गर्दैनथे । आफैंले आफैंलाई सोधें । के म बिग्रेकै हो त । म रक्सि खान्न, चुरोट खान्न, कलेज गएकै छु । कसरी बिग्रे ? त्यहि दिन मैले निर्णय गरेँ, अब म जसरी पनि गायक नबनी छोड्दिनँ ।


लोकदोहोरीमा १७ पटक
मेरो बानी एकदमै खराब छ । म सुरुमै कसैसित खुलेर बोल्न सक्दिन । सांगीतिक क्षेत्रका एक दुईजना अग्रजलाई नमस्ते गरेँ । उहाँहरुले नमस्ते नै फर्काउनुसम्म भएन । अनि मलाई लाग्यो, यो नमस्ते गरेर हुने रहेनछ । बरु गीत गाएर सुनाउनु पर्‍यो । गीत गाएपछि मात्रै अरुको नजरमा परिन्छ जस्तो लाग्यो ।
त्यतिबेला लोकदोहोरी प्रतियोगिता पनि क्षमता देखाउने राम्रो फोरम थियो । ०५९ सालदेखि दोहोरीमा भाग लिन थालें । मैले केबल टिमलाई जित्नुपर्छ मात्रै भनेर ध्यान दिईन । त्यहाँ पनि फरक खालको गीत गाउथेँ । केबल टिमलाई जित्ने भन्दा पनि दर्शक स्रोतालाई खुसी पार्नेतीर लागेँ ।
मैले १७ पटक भाग लिँदा ११ पटक पहिलो र दोस्रो भएको थिएँ । दोहोरी प्रतियोगितामा गाउन थालेपछि केही साथीहरुले सुझाब दिनु भयो । प्रतियोगितामा गाएर मात्रै हुन्न है, एल्बममा पनि गाउनुपर्छ ।
पहिलो एल्बम असफल
गीत गाउनका लागि स्टुडियोमा गएँ । स्टुडियोका मान्छेले मेरो स्वरै सुन्न चाहेनन् । तिमी बरु शब्द लेख, संगीत गर, तिम्रो स्वरले गायक बनिदैन भन्थे । मैले त्यहाँ पनि जिद्धी गरें । हैन म त गायकै बन्ने हो भनेर ।

एउटा स्टुडियोमा जर्बजस्ती गीत रेकर्डिङ गरेर छोडेर हिडेँ । पछि एल्बम आयो तर, चलेन । अनि मलाई स्टुडियोको मान्छेले भने ‘हेर भाई मैले पहिल्यै भनेको थिएँ । पुरुसोत्तम न्यौपाने, राजु परियार वा अरुलाई राखेको भए चल्थ्यो । मलाई पनि लाग्यो, म साँच्चै गाउनै नसक्ने छु कि क्या हो ।

त्यो गीत ०५९ सालमा १६ हजार खर्च गरेर रेकर्ड गरेको थिएँ । ठुल्दिदीले १० हजार दिनु भएको थियो । ६ हजार आफैंले खोजेर गीत रेकर्ड गरेको थिए । ठुल्दीदीले मलाई पहिल्यैदेखि पैसा दिने गर्नु हुन्थ्यो । त्यो बेलामा पनि मैले ‘दिदी मलाई दश हजार दिनुस् तर, घरमा नभन्नु है भनेँ । उहाँले सरक्कै दिनु भयो । उहाँको आफ्नै पसल थियो । म काठमाडौ आउँदा हरेक पटक एक हजार दिनुहुन्थ्यो ।

अनि भोकल सिक्न गएँ
पहिलो गीत रेकर्ड गर्न सार्‍है गार्‍हो भो । गाउँमा लुकी लुकी गाउँदा सबले तेरो स्वर राम्रो भन्थे । तर, स्टुडियोमा गाएको त रेकर्डिङ गर्ने दाईले तेरो स्वरै मिल्दैन भन्नु भयो । त्यो दिन त्यत्तिकै आएँ ।
भोलिपल्ट फेरि गएँ । भोलिपल्ट पनि त्यसै भने । मैले सोचें, रेकर्डिङ गर्ने दाईलाई नै स्वरको वारेमा थाह रहेनछ । म गलत छँदै छैन । दोस्रो दिन पनि रेकर्डिङ भएन । पर्सीपल्ट जाँदा एकजना चर्चित गायक रेकर्ड गर्दै थिए । उनले पनि त्यसै भने । अनि मलाई लाग्यो वास्तवमा गलत मै हो कि क्या हो । अनि मात्रै भोकल सिक्न गएँ ।
भोकल सिकेपछि थाह भो । गलत त्यो दाई होइन, म आफैं रहेछु । नौ दिन भोकल सिकेपछि तीनवटा गीत रेकर्ड गरें ।
-Source :onlinekhabar.com

,

0 comments

Write Down Your Responses